जनकपुरधामसहित मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा भव्य रुपमा मनाइँदैछ ।
कोजाग्रत पूर्णिमाको अवसरमा प्रत्येक वर्षजस्तै यस वर्षपनि महोत्तरीको रतौलीबाट १ सय १ भार जानकी मन्दिरमा ल्याइएको छ । महोत्तरीको रतौलीका स्व. महेन्द्रप्रसाद ठाकुरको घरबाट मन्दिरमा ल्याइएको भारबाटै भगवान सीतारामको चुमाओन गर्ने परम्परा रहेको छ ।
भारमा पान, मखान, लड्डु, खाजा, चामल, दाल तरकारी, भगवान राम र माता जानकीको कपडा ल्याइएको छ । रतौलीबाट जानकी मन्दिरमा भार ल्याउने परम्परा सयौं साल देखि चल्दै आइरहेको छ ।
कोजाग्रत पूर्णिमालाई भव्य बनाउनका लागि जानकी मन्दिरमा भजन कीर्तनको आयोजना गर्ने गरिन्छ । प्रत्येक वर्ष उत्सवको बेला हास्यपरिहासको कार्यक्रमको आयोजना समेत हुने गरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए ।
यसअघि गतराति मिथिलाञ्चलको घर घरमा कोजाग्रत पर्व मनाइएको थियो । मिथिलाञ्चलको घरघरमा तथा जानकी मन्दिरमा एकैदिन कोजाग्रत पर्व मनाउने परम्परा रहेपनि यस वर्ष उदयकालमा आज पूर्णिमा परेकाले जानकी मन्दिरमा कोजाग्रत पर्व मनाइएको हो ।
Century Times
