मधेसका मुख्यमन्त्री सतिशकुमार सिँहले मैथिली विकास कोषको निर्माणाधिन भवनको अवलोकन गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित कोषको निर्माणाधीन भवनको बिहीबार मुख्यमन्त्री सिंहले अवलोकन गरेका हुन् ।
मुख्यमन्त्री सिँहलाई कोषका अध्यक्ष जीवनाथ चौधरी, नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री रामसरोज यादव, नेपाली काँग्रेस धनुषाका उपसभापति गणेश झा, प्रमोद चौधरी लगायतले स्वागत गरेका थिए । प्रदेश सरकारको ७ करोड रूपैयाँको लगानीमा ५ कट्ठा क्षेत्रफलभित्र निर्माण भइरहेको कोषको भवनमा साँस्कृतिक संग्रहालय, पुस्तकालय, मिथिला लोक चित्रकला प्रशिक्षण केन्द्र, कला प्रदर्शनी कक्ष, श्रव्यदृश्य कार्यसम्पादन कक्ष, सेमिनार हल लगायत रहनेछ ।
तत्कालीन जिल्ला विकास समिति धनुषाले गत २०५८ सालमा स्थापना गरेको कोषले दुई वर्षको अन्तरालमा जनकपुर साहित्य महोत्सव तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्दैआएको छ । कोषले गत तीन वर्षयता मासिक कथा एवम् कवि गोष्ठी आयोजना गर्दै आई रहेको छ ।
Century Times
