Century Times

दिल्लीबाट काठमाण्डाै आएकाे विमानमा शङ्कास्पद वस्तु फेला परेन, उडान नियमित

दिल्लीबाट काठमाण्डाै आएकाे विमानमा शङ्कास्पद वस्तु फेला परेन, उडान नियमित

भारतको विमान सेवा कम्पनी भिस्तारा एअरको विमानमा कुनै शङ्कास्पद वस्तु फेला नपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानमा बम राखेको हल्ला फैलिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभेटिएको हो ।

विमानमा कुनै पनि शङ्कास्पद वस्तु नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित रूपमा सञ्चालन भइरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो । उहाँले विमानमा शङ्कास्पद वस्तु फेला नपरेपछि विमानलाई खतरामुक्त घोषणा गरिएको बताउनुभयो । ‘विमानको बाहिरी, भित्री र यात्रु तथा सबै सामान जाँच भयो । शङ्कास्पद वस्तु फेला नपरेपछि विमानलाई खतरामुक्त पनि घोषणा गरिएको हो’, सूचना अधिकारी भूलले भन्नुभयो, ‘अहिले विमानस्थलको सबै उडान सामान्य अवस्थामा सञ्चालन भइरहेका छन् । ब्यागेज सम्बन्धित यात्रुलाई हस्तान्तरण गर्ने काम भइरहेको छ । विमानले नियमित उडानमा काठमाण्डाैबाट यात्रु लिएर नयाँ दिल्ली उड्ने तयारीमा रहेको छ ।’

भारतको नयाँ दिल्लीबाट काठमाण्डाैकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजाे दिउँसो साढे ४ बजे अवतरण गरेको भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको विमानमा बम राखेको हल्लापछि सेनाको डिस्पोजल टोलीले दिउँसो साढे ४ बजेदेखि बेलुकी ७ बजेसम्म विमानको जाँच गरेको थियो ।

थाहा नभएकाे मानिसकाे समूहले भिस्ताराको एअरबस ए ३२० विमानमा बम रहेको धम्कीपूर्ण सूचना आएपछि काठमाण्डाै विमानस्थलमा विमानलाई पार्किङ–वेबाट अलग्गै राखेर सुरक्षा जाँच गरिएको थियो । विमानका यात्रुलाई विशेषरूपमा शरीर खानतलासी गरेर उच्च निगरानीका साथ अध्यागमनबाट बाहिर पठाइएको थियो ।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार भिस्तारा एअरको विमानमा बम राखेको हल्लापछि सेनाको विस्फोटक पदार्थ निष्क्रय गर्ने विशेष टोलीले खानतलासी गरेको थियो । विमानमा रहेका एक सय ५७ जना यात्रुलाई खानतलासी गर्दा कुनै शङ्कास्पद वस्तु फेला नपरेको उहाँले बताउनुभयो । बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा अनुसन्धान गरिएको हो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »