जनकपुरधामसहित प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ जानकी नवमी मनाइँदैछ।
आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ । बिहीबारदेखि नै यो पर्वका अवसरमा आयोजित विविध धार्मिक अनुष्ठान आज सम्पन्न हुँदैछन्।
सीता, वैदेही, जनकनन्दिनी, मिथिला, रामिणी र किशोरीजीलगायत धेरै नाउँले जानकीलाई पुकारिन्छ। हिन्दू परम्परा र मान्यतामा देवीस्वरुपा मानिने जानकी अघि त्रेता युगमा वैशाख शुक्ल नवमीका दिन प्रकट भएकी विश्वास गरिन्छ।
पर्वका अवसरमा मिथिलाका मठ, मन्दिरमा यो पर्व वैशाख शुक्लपक्ष सुरु भएसँगै नौ दिनसम्म विभिन्न विधिका साथ मनाउने चलन छ।
पर्वका अवसरमा प्राचीन मिथिलाका सबैजसो मठमन्दिरमा विशेष भजनकीर्तन हुँदै आएका छन्। त्यसैगरी सीताजी प्रकट हुनु भएको पौराणिक कथाका आधारमा ती विषय समेटिएको भावका मङ्गलगान गुञ्जिरहेका छन् ।
यसैबीच, प्राचीन मिथिलाको राजधानी जनकपुरधाम र त्यहाँका मठमन्दिरमात्र नभएर घरघरमा हिजो बिहीबार साँझदेखि नै दीपावली गरिएको छ।
तिथिको घटबढले हिजोको साँझ र रात नवमी तिथि परेको हुँदा हिजो न दीपावली गरिएको थियो । जनकपुरधामस्थित दुधमती नदीमा आज बिहानै शाहीस्नान सम्पन्न भएको छ । यस अवसरमा महोत्तरीको मटिहानीस्थित लक्ष्मीसागर, जलेश्वरस्थित भार्गव, पुरन्दर र वरुणसरलगायत तलाउमा स्नान गर्ने श्रद्धालुको भीड लागेको छ।
यसैगरी आज मध्याह्न जानकीको डोला जनकपुर नगर परिक्रमा गराई सन्ध्या आरतीपश्चात् पर्व सम्पन्न गरिने तयारी रहेको जानकीमन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिए।
Century Times
