होलीका लागि काठमाडौं उपत्यकामा सुरक्षा दिन ३५ सयभन्दा बढी प्रहरी खटिने भएका छन्।
बिहीबार हुने होलीका विभिन्न कार्यक्रमलाई मध्यनजरमा राख्दै प्रहरीले सुरक्षा व्यवस्था तयार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।
केही वर्षयता कोरोना भाइरसको महामारीका कारण होलीमा चहलपहल कम भएको थियो। तर यसपालि कुनै प्रतिबन्ध समेत नभएको हुँदा होली मनाउनेको भीड बढी नै हुने प्रहरीको आकलन छ।
त्यसैलाई मध्यनजरमा राखेर सुरक्षा व्यवस्था तयार गरेको राठौरले बताए।
होलीका लागि भनेर कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पालले उपत्यकाका तीनजनै प्रमुखलाई सम्भावित घटनालाई मध्यनजरमा राखेर प्रभावकारी सुरक्षा व्यवस्था तयार गर्न निर्देशन समेत दिएको एसपी राठौरले बताए।
उपत्यकामा मात्रै ३५ सयभन्दा बढी प्रहरी परिचालन गर्न लागिएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंले मात्रै १७ सयभन्दा बढी, ललितपुरबाट ६ सयभन्दा बढी र भक्तपुरमा ४ सयभन्दा बढी प्रहरी परिचालन गर्ने तयारी रहेको एसपी राठौरले बताए।
‘कोरोनाको कारण आमनागरिकले खासै होली मनाउन सकिरहेका थिएनन्। यसपालि निमिट्यान्न नै नभए पनि कम भएको कारणले यो पटक धेरै चहलपहल हुने आकलन गरेका छौं,’ उनले भने, ‘त्यसैअनुसार हाम्रो विशेष तयारी तथा सुरक्षा व्यवस्था बनेको छ।’
यस्तै, होलीका दिन सवारी साधन चलाउँदा हुने लापर्बाहीलाई मध्यनजरमा राखेर तीन सय प्रहरी खटाएको उनले बताए।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट चेकिङ गर्न ३ सय ट्राफिक प्रहरी खटाइने उनले बताए।
ट्राफिक चेकिङ पनि बढाइएको उनले बताए। भोलि काठमाडौं उपत्यकामा ६८ ठाउँमा चेकिङ हुने उनले बताए।
‘एसपीकै कमान्डमा ३ सय जना प्रहरी खटिन लागेको हो,’ उनले भने, ‘भोलि पहिले भएका चेकिङ स्पटहरू त हुने नै भयो।त्यसबाहेक थप ६८ ठाउँमा विशेष ट्राफिक चेकिङ हुनेछ। लागुऔषध सेवन गरेर, ट्राफिक नियमहरू उल्लंघन गर्लान् भनेर त्यसमा ध्यान दिएका हौं।’
त्यस्तै, उच्छृंखल गतिविधि गरे सवारी साधन वा मानिसलाई नै पनि केही घण्टा होल्ड गर्ने सकिने उनले बताए।
महानगरीय अपराध महाशाखाबाट पनि एक सयभन्दा बढी सादा पोशाकमा खटाइने उनले बताए।
४४ ठाउँमा मोबाइल भ्यान, ७३ कन्ट्रोल रूम भेहिकल (सिआरभी) र ७९ वटा मोटरसाइकल गस्ती समेत गरिने प्रहरीले जनाएको छ। केही ठाउँमा साइकल गस्ती समेत गर्ने प्रहरीको तयारी छ।
यसबाहेक पनि लापर्बाही हुनसक्ने भन्दै सामुदायिक टोलीले माइकिङ, ब्यानरहरूको माध्यमबाट जनचेतना फैलाउने कामहरू पनि गर्ने प्रहरीको तयारी छ।
प्रहरीले कसैको अनुमति र इच्छाविपरीत जबरजस्ती रङ नहाल्न र लोलाले नहाल्न अनुरोध गरेको छ।
महिला, पर्यटक, बालबालिकाहरूलाई पनि जबरजस्ती रङ दलेर अनावश्यक हैरानी नदिन अनुरोध प्रहरीले गरेको छ।
कुनै पनि घटना घटेमा प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरी जानकारी गराउन कार्यालयले आग्रह गरेको छ।
Century Times
