१० माघ,
बाराको आदर्शकोतवाल गाउँपालिकामा दुलाहा दुलहीरथले किचेर २ जनाको मृत्यु भएको छ । १३ जना घाईते छन् । घाईते मध्ये ६ जनाको अवस्था गम्भिर छ ।
आदर्शकोतवाल गाउँपालिका–३ बतरा बस्ने बनारसी रामको छोरी १६ वर्षीया निलम कुमारी राम र सिम्रौनगढ नगरपालिका–७ जानकीनगर बस्ने दिपेन्द्र रामको श्रीमती २५ वर्षीया बालकुमारी रामको मृत्यु भएको वडा अध्यक्ष धर्मेन्द्र यादवले जानकारी दिए ।


रथ अचानक तिव्र गतिमा कुदेर रथको अगाडी रहेका मानिसहरुलाई किचेको र दुई जनाको घटना स्थलमा नै मृत्यु भएको वडा अध्यक्ष यादवले बताए ।
स्थानीय लक्षु राम महरा चमारको छोरा सियाराम महरा चमारको बिहेका लागि चार पाङ्ग्रे रथ गाउँमा ल्याईएको थियो । रथ समेत लिएर गाउँकै ब्रम्ह थानमा पुजा गरी फर्किने क्रममा रथ अनियन्त्रित भई पल्टिएको थियो ।

रथ पल्टिएर किच्दा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको र अन्य १३ जना घाईतलाई उद्दार गरेर उपचारका लागि कलैया अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

Century Times
