भारतमा नेशनल डेमोक्रेटिक अलायन्स (एनडिए) का दुई प्रमुख दल जनता दल (युनाइटेड) र तेलेगु देसम पार्टी (टिडिपी) ले नरेन्द्र मोदीकै नेतृत्वमा सरकार बनाउने सहमति जनाएका छन्।
नयाँ दिल्लीमा बिहीबार साँझ भएको एनडिएको बैठकमा जनता दलका प्रमुख एवं बिहारका मुख्यमन्त्री नितिश कुमार र टिडिपीका प्रमुख चन्द्रबाबु नायडूले मोदीलाई प्रधानमन्त्रीमा समर्थन गर्न लिखित सहमति जनाएको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ।
एनडिएको बैठकले सर्वसम्मतले आफूहरूको मोदीलाई नेताका रूपमा स्वीकार गरेको छ।
एनडिए गठबन्धनमा नितिश कुमार र नायडू प्रमुख घटकको रूपमा देखिएका छन्। मंगलबार सार्वजनिक भएको मतपरिणाममा जनता दलले १२ र टिडिपीले १६ सिटमा जितेको थियो।
भारतीय जनता पार्टी (भाजपा) एक्लैको बहुमत नआएपछि दुई प्रमुख दलको समर्थनमा गठबन्धनको सरकार बन्न लागेको हो। एनडिटिभीका अनुसार भारतमा शनिबार (जुन ८) मा नयाँ सरकार बन्नेछ। त्यस दिन मोदीले प्रधानमन्त्रीको शपथ लिने तयारी छ। यद्यपि सरकार गठनमा भागबण्डाको विषय टुंग्याउन भने बाँकी रहेको भारतीय समाचार संस्थाहरूले जनाएका छन्।
यसअघि विपक्षी गठबन्धन इन्डियाले भने नितिश कुमार र नायडूलाई आफ्नो पक्षमा तानेर सरकार बनाउने तयारी गरिरहेको अनुमान गरिएको थियो।
इन्डिया गठबन्धनले २३२ सिट जितेको छ। विभिन्न आकलन गरिएको हुँदा भाजपाले नयाँ सरकार गठनका लागि टिडिपी र जनता दलको लिखित सहमति लिएको हो।
Century Times
