राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेश प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद झाले मधेश प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गरेका हुन्।
उनले नेपालमा २० वटा संरक्षित क्षेत्र रहे पनि मधेश प्रदेशमा भने पूर्णरुपमा एउटा पनि संरक्षित क्षेत्र नपर्ने बताए। उनले नेपालमा पाइने १ हजार ९१८ जीवजन्तुमध्ये १ हजार ३०८ प्रजाति चुरे र तराई क्षेत्रमा नै पाइने उल्लेख गरे।
त्यस्तै नेपालमा पाइने संकटापन्न ४९३ प्रजातिमध्ये ३१९ प्रजाति यही क्षेत्रमा पाइने भएकाले चुरे संरक्षित क्षेत्र घोषणा गर्नु आवश्यक रहेको बताए। उनले चुरे दोहनका कारण पानीको सतह पनि तल झरिरहेको भन्दै चुरे क्षेत्रले भूमिगत जलभण्डारको काम गर्ने भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिए।
उनले भने ‘नेपालमा अहिले २० वटा संरक्षित क्षेत्र रहेको छ, जसमध्ये ७ वटाको प्रत्यक्ष सम्बन्ध चुरेसँग पर्छ। नेपालमा पाइने १ हजार ९१८ जीवजन्तुमध्ये १ हजार ३०८ प्रजाति चुरे र तराई क्षेत्रमा पाइन्छ। नेपालमा पाइने संकटापन्न ४९३ प्रजातिमध्ये ३१९ यही क्षेत्रमा पाइन्छ। चुरे क्षेत्रलाई नेपाल सरकारले २०७१ असार २ गते निर्णय गरेर वातावरण संरक्षण क्षेत्र घोषणा गर्यो। तर त्यो पर्याप्त भएन। म सबै साझेदारको ध्यानाकर्षण गराउन चाहन्छु कि, कम्तीमा मधेश प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरियोस्।’
सांसद झाले चुरे संरक्षणका लागि प्रभावकारी रूपमा बजेट विनियोजनको गर्न सरकारलाई आग्रह गरे।
Century Times
